काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुल नतिरेको नाममा उद्योगको लाइन काट्नु गलत भएको बताएका छन् ।
एमालेको झुलाघाट चिवाभञ्ज्याङ संकल्प यात्राबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले उद्योगी व्यवसायीले आफूलाई पनि ज्ञापन पत्र दिएको भन्दै यो विषय उठाएका हुन् ।
उनले डेडिकेटेड फिडर र ट्रंकलाइन जोडे पनि त्यस अनुसार विद्युत नदिएको तर महसुल मात्र बढी लिएको व्यवसायीको गुनासो रहेको बताएका छन् ।
अहिले उद्योगी व्यवसायी आर्थिक समस्याका कारण तड्पिरहेको भन्दै भन्दै अध्यक्ष ओलीले आफैं बन्द हुने अवस्थामा पुगेका उद्योगका लाइन काटेर थप पीडित बनाउन नहुने बताएका छन् ।
डेडिकेटेड र ट्रंकलाइन विवादलाई संवादमार्फत हल गर्न पनि सरकारलाई आग्रह गर्दै अध्यक्ष ओलीले भने – ‘यो सरकारले बुझ्न के पर्यो भने डेडिकेटेड, ट्रंकलाइन जोडेर विद्युत आपूर्ति गरेको छ भने आपूर्ति गरेको जति महसुल लिनुस्, लाइन जोडेको छ विजुली दिएको छैन भने केको पैसा उठाउने ?’
नेपाल विद्युत प्राधिकरणले २०७३ सालअघि लोडसेडिङ हुँदा उद्योगहरुलाई डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत बिजुली आपूर्ति गरेको थियो । यसरी दिएको बिजुलीको महंगो शुल्क लिने गरेको थियो । तर उद्योगी व्यवसायीले प्राधिकरणले थाहै नदिई डेडिकेटेड र ट्रंकलाइनको बिजुली जोडेको र महंगो महसुल असुल्न खोजेको भन्दै उक्त समयको महसुल तिर्न अस्वीकार गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणले भने डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिर्ने उद्योगको लाइन काट्ने चेतावनी दिएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा प्राधिकरणले ती उद्योगको लाइन काटेको थिएन ।
केही दिनअघि प्रधानमन्त्री प्रचण्डले पनि त्यस्ता उद्योगको लाइन काट्न निर्देशन दिएपछि उद्योगी व्यवसायीले विरोध गर्दै आएका छन् ।