काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले २८ दिन भित्रमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गरिने प्रतिवद्धता जनाएको छ ।
समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले विज्ञप्ति जारी गर्दै आकस्मिक रुपमा केही नभए अबको २८ दिन भित्रमा मेलम्चीको पानी दैनिक १७ करोड लिटरका दलले काठमाडौँ उपत्यकामा वितरण गर्ने दावी गरेका छन् ।
पानी वितरणका लागि २८ दिनको द्रुत कार्यतालिका बनाएर २ सिफ्टमा काम गर्नेगरी जनशक्ति परिचालन गरिएको पन्तले उल्लेख गरेका छन् ।
गएको असार ८ गतेदेखि आयोजनाले काठमाडौँ उपत्यकामा पानी वितरण रोकेको छ । आयोजनाले क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने जनाएको थियो । तर, पुस लाग्दासमेत पानी वितरण हुन नसकेको पछि जनताले रित्ता बाल्टीसहित काठमाडौंमा प्रदर्शन गरेका थिए ।
दुई दिनअघि उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले मेलम्चीको पानी छिटो काठमाडौँ ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको थियो । जनस्तरबाट भएको विरोधले समिति गम्भीर बनेको पन्तले विज्ञप्तिमा जनाएका छन् ।





















