काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको ८० प्रतिशत शेयर खरिद गरेका सतीशलाल आचार्यसँग आफ्नो राम्रै चिनजान रहेको स्वीकारेका छन् । तर एनसेलको सेयर खरिद–विक्रीमा आफू र परिवारको सदस्यलाई जोडेर झुटो प्रचार गरिएको उनको दावी छ ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको शेयर खरिदबारे छलफल गर्न मंगलबार बोलाएको वैकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन ।
छलफलका क्रममा सांसदहरुले एनसेलको शेयर खरिद गरेका गैरआवासीय नेपाली सतीशलाल आचार्यसँगको सम्बन्ध तथा प्रधानमन्त्री र उनकी छोरी गंगा दाहालको संलग्नता छ भनेर सांसद अमरेशकुमार सिंहले गरेको दाबीबारे सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सतीशलालको नाम लिएनन्, तर शेयर खरिद बिक्री गर्नेहरुलाई चिनेको बताए । आफूमात्र होइन कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली पनि सिंगापुर जाँदा उनीहरु कहाँ बस्ने गरेको प्रचण्डले बताएका छन् ।
आचार्यसँग लामो समयदेखि दाहालको उठवस रहेको र सिंगापुरमा जाँदा आचार्यको वस्ने गरेको र आचार्य वालुवाटारमा पछिल्ले दुई महिनादेखि धाइरहेको सांसद अमरेस सार्वजनिक गरेपछि उनीमाथि माओवादीका नेता, कार्यकर्ता आक्रोशित भएका थिए । उनीहरुले सांसद सिंहलाई नांगेझार पार्ने चेतावनी पनि दिएका थिए । तर प्रधानमन्त्री प्रचण्डले सिंगापुर जाँदा आचार्यकैमा बस्ने गरेको स्वीकार गरेका छन् ।
उनले भनेका छन् “ती मान्छे सबैलाई चिन्छु, के भ्रम नहोस् भने मलाई थाहै छैन, म अननन छु भन्ने होइन । म राम्रो चिन्छु । मेरो श्रीमती बिरामी भएको बेला सिंगापुरमा दुई चोटी गएको छु, तिनी साथीहरु कहाँ बसेको पनि छु । शेरबहादुर देउवाजी जँदा पनि बस्नुभएको छ । केपी ओली जाँदा पनि बस्नुभएको छ । हाम्रो बीचमा कुरा पनि हुन्छ । तर त्यसको अर्थ ऐन, कानुन र हाम्रो सिष्टमका विरुद्ध कोही जान्छ भने जो सुकै होस् हामी लड्न तयार भएको हो । चिनेजानेको नाताले अनुहार हेरेर मानिँदैन ।”
अघिल्लो पटक एनसेलको सेयर खरिद बिक्री हुँदा मुद्दा लडेर कर तिराउने नेताहरुमध्ये आफू पनि एक भएको दावी गर्दै प्रचण्डले अहिले पनि जालझेलको प्रयास भएको भन्दै हर हालतमा त्यसलाई रोक्ने प्रतिवद्धता जनाएका छन् । त्यसका लागि आवश्यक परे कानुनी छिद्रहरु समेत टाल्ने दावी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले एनसेलसँग आफू र आफ्नो परिवारलाई जोडेर गरेको प्रचार झुटो भएको दावी गर्दै आफ्नो परिवारलाई गलत आरोप लगाउनु लोकतन्त्र विरुद्धको हमला भएको बताएका छन् ।
आफ्नो परिवारको सदस्य घटेर तीन जना भएको भन्दै उनले अगाडि भने, ‘एउटी छोरी भरतपुरमा मेयर छ, उतै व्यस्त छे । एउटा छोरी छ, त्यो कस्ती छ, थाहा पाउनुभएकै छ ।’
आफ्नो स्वकीय सचिव समेत रहेकी छोरी गंगालाई जोडेर गरेको प्रचार झुटो भएको र यो गणतन्त्र, लोकतन्त्र विरुद्धको हमला भएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।