
काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडको अध्यक्षमा पुनः चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । बिहीबार सम्पन्न बैंकको १७औँ वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई नै अध्यक्षमा निर्वाचित गरेको हो ।
साधारण सभाबाट संस्थापक शेयरधनीहरुमध्येबाट अध्यक्ष ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त तथा सर्वसाधारण शेयरधनीतर्फबाट नारायण प्रसाद पौडेल उपाध्याय, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा सञ्चालक समितिमा निर्वाचित भएका थिए ।
नवनिर्वाचित अध्यक्ष ढकालले नेपाल राष्ट्र बैंकको गभर्नरबाट पद तथा गोपनियताको शपथ लिएपछि नवनिर्वाचित सञ्चालकहरुलाई शपथ गराउनेछन् ।
बिहीबार काठमाडौंमा सम्पन्न १७औँ वार्षिक साधारणसभाले शेयर धनीहरुलाई ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।
आर्थिक वर्ष २०७९/०८० को कूल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुका लागि प्रस्तावित लाभांश पारित गरेको हो । साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७९÷८० को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको बोनश शेयर तथा नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७९/८० मा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड रुपैयाँ र कर पछिको मुनाफा ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ ८७ लाख पुग्नेछ ।
साधारणसभामा अध्यक्ष ढकालले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताएका थिए ।
साधारणसभाले संस्थापक शेयरधनी समूहबाट ३ जना र सर्वसाधारण शेयरधनी समूहबाट ३ जना समेत जम्मा ६ जना संचालकको निर्वाचन गरेको छ । आर्थिक वर्ष २०७९/८० मा बैंकको खुद व्याज आम्दानी तर्फ अघिल्लो वर्ष भन्दा ६ अर्ब ८१ करोड रुपैयाँले बृद्धि भएको छ । बैंकको खुद मुनाफामा अघिल्लो बर्षको तुलनामा ३४.९९ प्रतिशतले वृद्धि भई ६ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ ।

























