बाजुरा । बाजुराका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको १४ करोड रुपैयाँमध्ये ८ करोड रुपैयाँ फिर्ता गरिएको छ। पहिलो किस्ताको १४ करोड रुपैयाँमध्ये १० करोड रुपैयाँ फिर्ता गर्न राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि सो रकम फिर्ता गरिएको हो।
जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार प्राधिकरणले सोमबार जिल्ला प्रशासन कार्यालयलाई रकम फिर्ताका लागि पत्र पठाएको थियो । सो रकम विपत् व्यवस्थापन कोषमा पठाइएको उहाँले बताए। भूकम्पबाट प्रभावित अन्य जिल्लामा रकम अभाव भएको भन्दै प्राधिकरणले जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्र पठाएको थियो।
प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट अत्यधिक क्षति भएकाले उक्त क्षेत्रमा प्रभावितका लागि तत्काल थप रकम निकासा गर्नुपर्ने भएकाले रकम फिर्ता गर्न पत्र पठाएको प्रजिअ पौडेलले बताए। प्राधिकरणले बाजुराका भूकम्पप्रभावितका लागि अस्थायी आवास निर्माण गर्न गत मङ्सिर ४ गते पहिलो किस्ताबापत १४ करोड रुपैयाँ पठाएको उनले जानकारी दिए। निकासा भएको सो रकममध्ये हिमाली गाउँपलिका र बूढीगङ्गा नगरपालिकाबाहेक जिल्लाका सात स्थानीय तहका १ हजार ५०९ प्रभावित परिवारका लागि ३ करोड ७७ लाख रुपैयाँ सम्बन्धित स्थानीय तहमा पठाइसकेको प्रजिअ पौडेलले बताए। (रासस)

























