काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला व्यवसायमा संलग्न उद्यमीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा २० औं हस्तकला व्यापार मेला तथा १८ औं हस्तकला प्रतियोगीताको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले हस्तकला क्षेत्रले स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु उत्पादन गर्ने भएकाले यो व्यवसायमा संलग्न उद्यमीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताउनुभएको हो ।
हस्तकला क्षेत्रको परम्परागत सीप र प्रविधि हस्तान्तरणका लागि आवश्यक पर्ने कार्यक्रम, तालिमहरू सञ्चालनार्थ संघ, प्रदेश, स्थानीय सरकारसहित निजी क्षेत्रको साझेदारीमा हस्तकलाग्राम स्थापना गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
राष्ट्रपतिले हस्तकला सामग्रीले स्वदेशी मात्र होइन विदेशी पर्यटकलाई पनि आकर्षित गरिरहेको हुनाले पर्यटनसँग सम्बन्धित विभिन्न निकायहरूबीच उचित समन्वय र सहयोगको वातावरण तयार गर्न जरुरी रहेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले नेपाली हस्तकलाको प्रतिलिपि अधिकार सुरक्षित गर्दै नेपाली परम्परागत सीप र उत्पादनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समय सापेक्ष विकास गर्न आवश्यक रहेको जिकिर गर्नुभयो ।
हस्तकला अर्थव्यवस्थाको पहिचानमा आधारित उद्योग व्यवस्था भएको हुँदा यसको उत्पादनले मुलुकको पहिचान विश्वभर फैलाउन योगदान पुर्याउने उहाँले बताउनुभयो ।

























