काठमाडौँ । नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज तेह्रथुम पुग्दैछ ।
एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार यात्राको १५औँ दिन भोजपुरबाट धनकुटाको लेगुवा हुँदै पख्रिबास, हिले, सिंधुवा भएर तेह्रथुमको वसन्तपुर पुग्ने र आज वसन्तपुरमा आमसभा हुनेछ ।
‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने नारासहित एमालेले मध्य पहाडका जनतासँग साक्षात्कार गर्ने, त्यहाँको जनजीवनका विविध पाटाहरूसँग छलफल गर्ने, विकास निर्माण र हाल भइरहेका समस्याहरूको पहिचान गरी समाधानका उपाय पहिल्याउने उद्देश्यले यात्रा आयोजना गरिएको जनाएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको यात्रामा पार्टीका केन्द्रीय नेतादेखि स्थानीय कार्यकर्तासम्म सहभागी हुँदै आएका छन् । यही मङ्सिर १४ गते बैतडीबाट सुरु भएको यात्रा पुस १ गते पाँचथरमा पुगेर सम्पन्न हुँदैछ ।