काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारतर्फ अघि बढेको दावी गरेका छन् । मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले कोभिड महामारी, रुस–युक्रेन युद्धजस्ता अन्तर्राष्ट्रिय कारणहरुले दबाबमा परेको अर्थतन्त्र सुधारका लागि मौद्रिक नीति समीक्षामार्फत पहल गरेको बताएका छन् ।
मौद्रिक नीति समीक्षापछि सेयर बजार पनि सकारात्मक भएको र जग्गा कारोबार पनि बढ्दै जाने उनले बताएका छन् । पूँजीगत खर्च ६ प्रतिशले बढेको छ र समग्रमा ४ प्रतिशत राजस्व संकलनमा सुधार भएको जानकारी दिँदै बैंकहरूले व्याज घटाउँदै गएको बताएका छन् ।
मन्त्री महतले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषयहरु अहिले कार्यान्वयनको क्रममा रहेको भन्दै सरकारी खर्चतर्फ वित्त अनुशासनलाई जोड दिइएको बताएका छन् ।
स्रोतको उपलब्धताका आधारमा बहुवर्षीय ठेक्कामा सहमति दिनेगरी नयाँ मापदण्ड जारी गरिएको बताउँदै मन्त्री महतले चालु आर्थिक वर्षको विनियोजनको चार गुणासम्म मात्र सहमति दिन सकिने व्यवस्था गरिएको जानकारी दिएका छन् ।
आयोजनाको महत्वका आधारमा बजेट विनियोजन गर्ने प्रणाली बसालिएको वताउँदै मन्त्री महतले अन्तर्राष्ट्रिय विकास सहायतासम्बन्धी नयाँ नीतिको तर्जुमा सुरु गरिएको बताएका छन् । जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न सुरु गरिएको उनले बताएका छन् ।
जलवायु परिवर्तनका कारण मुलुकलाई पर्न गएको असरको क्षतिपूर्ति स्वरुप अनुदान र सहुलियतपूर्ण ऋण सहायता परिचालनमा जोड दिने नीति लिइएको अर्थमन्त्री महतले बताएका छन् ।
मन्त्री डा. महतले राजस्व परिचालनमा पनि क्रमशः सुधार देखिएको दाबी गरेका छन् । बजेटमार्फत गरिएका नीतिगत परिवर्तन, नयाँ कर आधार विस्तार र दरमा गरिएको औचित्यपूर्ण परिवर्तन र राजस्व चुहावट नियन्त्रण गर्न गरिएका प्रयासले परिणाम देखिन थालेको उनको दावी छ ।
अर्थमन्त्री महतले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच उच्चस्तरीय छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमशः खुकुलो बनाउँदै लगिएको बताएका छन् ।
चौमासिक समीक्षाबाट मौद्रिक नीतिमा महत्वपूर्ण परिवर्तन भएको वताउँदै उनले सार्वजनिक संस्थान सुधारका लागि निजीकरण समितिलाई क्रियाशील बनाई काम अगाडि बढाइएको बताएका छन् ।
लगानी सम्मेलनअघि नै लगानीको वातावरणमा वाधक प्रक्रिया र नीतिको खोजी गरी समाधानको उपाय अवलम्वन गरिने अर्थमन्त्री महतले बताएका छन् ।