बुटवल । दाङमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा आमाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा लमही ४ निवासी ६४ वर्षीय दीपा बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दाङका प्रवक्ता एवम् डीएसपी जनक बहादुर मल्लका अनुसार घोराहीबाट लमहीतर्फ जाँदै गरेको नरा १ ख २८४० नम्बरको खाली टिपर र सोही दिशातर्फ जाँदै गरेको नरा ७ प ३३३१ नम्बरको मोटरसाइकल घोराही ३ मसोट नजिकै आपसमा ठक्कर खादा मोटरसाइकलमा सवार बुढाथोकीको मृत्यु भएको हो । यसैगरी मोटरसाइकल चालक (मृतकका छोरा) २३ वर्षीय सफल बुढाथोकी घाइते भएका हुन् ।
घाइते सफलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । टिपर चालक घोराही १४ का ३२ वर्षीय प्रकाश केसीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।