काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुनसहित केही विदेशी नागरिक पक्राउ गरेको बताइएको छ । भन्सार पास भइसकेको सुन सिभिलमा खटिएको प्रहरीले शंका लागेपछि जाँच गरेका थिए ।
विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दले फ्लाइ दुबईको जहाज चढेर शनिबार राति काठमाडौं आएका इजिप्ट र सुडानका नागरिकहरु सुनसहित पक्राउ परेको बताएका छन् ।
बरामद भएको सुन अर्धठोस अवस्थामा रहेको र उनीहरुले हाफ ज्याकेटको गोजीमा सुन राखेर ल्याएको डिआईजी चन्दले बताएका छन् ।
गएराति ११ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट आएका उनीहरु चेकजाँचको क्रममा राति १२ः४५ बजे पक्राउ परेको प्रहरीले जनाएको छ ।
सुन सहित पक्राउ परेका व्यक्तिलाई गौशाला प्रहरी वृत्त राखिएको र केहीबेरमा विस्तृत विवरण सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ । दुई दिन अघि मात्रै विमानस्थलबाट १४ किलो सुन सहित दुई जनालाई पक्राउ गरिएको थियो भने नागढुंगामा दुई केजी सहित समातिएको थियो ।