काठमाडौं । नेपाल राष्ट्र बैंकले रियलस्टेट कर्जा र सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा प्रतिवेदनमा जोखिम भार घटाएको उल्लेख छ।
बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाइ १२५ प्रतिशत कायम गरेको राष्ट्र बैंकले सार्वजनिक गरेको समीक्षामा उल्लेख छ।
यसअघि ५० लाखभन्दा धेरै रकमको शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत थियो ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंकदर, नीतिगत दरलाई साविकको तुलनामा घटाएको । केन्द्रीय बैंकले शुक्रबार समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत कायम गरेको छ । यस्तै, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरिएको छ ।
केन्द्रीय बैंकले विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण,शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी उक्त दर घटाएको हो । यससँगै अब बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने भएको छ । साथै,५० लाख सम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाइ ६० प्रतिशत कायम गरिने भएको छ ।

























