काठमाडौँ । बिहीबार मध्यराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ भने दुई जना पक्राउ परेका छन् ।
फ्लाई दुबईको जहाजबाट काठमाडौँ आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिएका छन् ।
पक्राउ परेका चन्द्र घलेले आफू भरिया मात्र भएको बताउँदै आफूलाईा मीन घलेले ल्याउन लगाएको भनेपछि प्रहरीले मीनलाई पनि धुम्बाराहीबाट राति नै पक्राउ गरेको डीआईजी चन्दले बताएका छन् ।
चन्द्र घले बिहीबार राति ११ बजेर ५६ मिनेट जाँदा फ्लाई दुबईको एफजेड ५७३ विमानबाट काठमाडौँ अवतरण गरेका थिए ।
उनले दुई/दुई किलोका सातवटा बिस्कुट बनाई अस्कोट, जुत्तामा लुकाएर ल्याएका थिए ।
पक्राउ परेका दुवै जनाविरुद्ध निकासी पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन, २०६४ अनुसार थप अनुसन्धान हुने बताइएको छ ।
सुन तस्करहरु धमाधम पक्राउ पर्दा पनि सुन तस्करी भने रोकिएको छैन । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले दुई दिनअघि मात्र तस्करीको सुन राखेको आशंकामा न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको थियो ।