काठमाडौँ । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रामा रहेको नेकपा एमालेको टोलीले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको निरीक्षण गरेको छ ।
निरीक्षणका क्रममा पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन वर्षअघि नै टनेल निर्माणको काम भएको भए पनि पछिल्लो समय ढिलाइ भइरहेको बताएका छन् ।
ओलीले आफ्नो सरकारका पालामा टनेलको ब्रेक थ्रु गरिएको भए पनि अहिले आएर कामले गति लिन नसकेको उल्लेख गर्दै यथाशीघ्र आयोजना सम्पन्न गर्न सबैको ध्यान जानुपर्ने बताएका छन् ।
ढिलो चाँडो जे भए पनि आयोजनाको काम सम्पन्न हुने विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले काम छिटो हुँदा किसानले छिटो लाभ लिन पाउने बताएका छन् ।
निर्माणको काममा खट्ने कर्मचारीहरूलाई भने धन्यवाद दिँदै ओलीले निर्माणको गुणस्तरमा कुनै पनि सम्झौता नगर्न आग्रह गरेका छन् ।
सो आयोजना प्रकृतिसँगको कारोबार भएकोले सानो लापरबाहीले पनि ठुलो क्षति हुने भन्दै अध्यक्ष ओलीले कामको गुणस्तरमा सम्झौता गर्न नहुने धारणा राखेका छन् ।
२०७६ वैशाख ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको ब्रेक थ्रु गरिएको थियो ।
चीनको सीआइसी र चाइना इन्जिनियरिङ ओभरसिज प्रालिको संयुक्त निर्माणमा आयोजनाको काम भएको हो । सो आयोजना निर्माण भएपछि बाँके र बर्दिया जिल्लाका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने छ । आयोजनाबाट ४६.८ मेगावाट विद्युत् समेत उत्पादन हुने छ । भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दिया जिल्लामा सिँचाई सुविधा पुर्याउने सो आयोजनाको लक्ष रहेको छ । सो आयोजनाको सुरुङको लम्बाइ १२ हजार मिटर रहेको छ ।