चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको दावी गरेका छन् । आज भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रले लय समाउन थालेको बताएका हुन ।
नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको बताउँदै अर्थमन्त्री महतले समस्यामा परेका व्यवसायीको समस्या समाधान हुने पनि बताएका छन् ।
समग्रमा रेमिट्यान्स ३० प्रतिशतले बढेको वताउँदै पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएको उनले बताएका छन् । अर्थतन्त्रमा सुधार आउन भने अझै केही समय लाग्ने उनले बताएका छन् ।
अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको जनाउँदै उनले ती निर्णयबाट भएको लगानीले प्रतिफल दिन समय लाग्दा अर्थतन्त्रमा केही समस्या देखिएको बताएका छन् ।
सहजरूपमा कर्जा प्रवाह हुँदा धेरै कर्जा जग्गामा, सेयर बजार र क्रिप्टोमा पनि भित्री रूपमा गएको जनाउँदै उनले त्यसको प्रतिफल आउन ढिला भएको बताएका छन् ।
घरजग्गाको कारोबारमा सुधार हुन लागेको बताउँदै अर्थमन्त्री महतले ऋण लिएर सही ठाउँमा लगानी गर्दा पनि परिणाम पाउन नसकेकाहरूको हकमा ब्याज, समय थपलगायतका विषयमा सरकारले राहतका लागि कोसिस गरिरहेको बताएका छन् ।
एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताउँदै अर्थमन्त्री महतले भने, “हामी सूचना लिइरहेका छौँ । यसको नियमन गर्ने निकाय दूरसञ्चार प्राधिकरण हो । यो ठूलो किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ ।”
आधिकारिक रूपमा सरकारलाई जानकारी नभएको जनाउँदै उनले यसले पार्ने प्रभावका विषयमा प्राधिकरणका पदाधिकारसँग बुझ्दै गरेको जानकारी दिएका छन् ।
फरक प्रसङ्गमा अर्थमन्त्री डा. महतले अहिले सरकारले चुरे क्षेत्रको गिट्टी, बालुवा उत्खननका लागि कुनै प्रक्रिया अघि नबढाएको स्पष्ट पारेका छन् । उनले भने, “अहिले त्यस्तो केही प्रक्रिया अघि बढेको छैन । हल्लामात्रै हो । यद्यपि हामीले प्रस्तावमा चुरेका भनेका छैनौँ त्यो पनि बुझीराख्नुपर्यो । हाम्रो खनिजजन्य जति पनि उत्पादन हुने सम्भावना छ, यसमा गिट्टी–ढुङ्गा पनि पर्छ ।”
यसबाट वातावरणमा नकारात्मक प्रभाव नहुने गरी देशले फाइदा कसरी उठाउन सक्छ भन्ने विषय भएको उनले बताए । अर्थमन्त्री महतले सम्भावनाको अध्ययन गरेर वातावरणलाई क्षति नहुने गरेर यस्तो किसिमको आफ्नो उपभोगका लागि र निर्यात गरेर आम्दानी गर्नका लागि पनि सम्भावना भएको ठाउँमा सम्भावनाको उपभोग गर्नुपर्छ भन्नेमा सरकार रहेको बताएका छन् ।