काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनको कुरा गर्नेहरु देशद्रोही भएको बताएका छन् ।
एमालेले शुरु गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अन्तरगत आइतबार दैलेखको राकम कर्णालीमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोही प्रतिगमनतर्फ फर्कने कुरा गर्ने र सोच्नेहरु देशद्रोही र लोकतन्त्रविरोधी भएको बताएका हुन ।
ओलीले लोकतान्त्रीक गणतन्त्रको विरोधमा बोल्नेहरु नेपाल र नेपालीको हित विपरित भएको जिकिर गरेका छन् । उनले बिभिन्न प्रकारका भ्रमहरु फैलाएर मुलुकको एकता बिथोल्न खोज्नेहरुप्रति सजक रहनुपर्ने र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताएका छन् ।
ओलीले वर्तमान गठबन्धनको सरकार आएपछि मुलुकको बिकास अवरुद्ध भएका कारण व्यवस्थामाथि प्रश्न उठ्न थालेको तर्क गरेका छन् । उनले एमाले सरकार हटेपछि देशमा अराजकता छाएकाले अव एमालेको एकल सरकार आवश्यक रहेको बताएका छन् ।
ओलीले एमालेले मात्रै देशको बिकास गर्न सक्ने र मुलुक बिकासको बाटोतर्फ अघि बढाउन सक्ने जिकिर गरेका छन् ।