काठमाडौं । नेकपा एमालेको मध्यपहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुदैँछ । अध्यक्ष केपी शर्मा ओलीले नेपालको पश्चिमी बिन्दु बैतडीको झुलाघाटमा झण्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेपछि ओलीसहितको टोली पूर्वतर्फ लाग्ने छ ।
अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डेय, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई लगायतका शिर्ष नेताहरु बैतडी पुगेका छन् ।
गएराति बैतडी सदरमुकाम गोठालापानीमा बास बसेका ओलीले आज बिहान ९ बजे पदयात्राको उद्घाटन गर्ने तयारी छ ।
‘समृद्धिका लागि संकल्प यात्रा’ नारा राखिएको एमालेको यो यात्रा मध्य पहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म हुनेछ ।
एमालेका अनुसार झुलाघाट (बैतडी) –चिवाभञ्ज्याङ (पाँचथर) यात्रा तीन सातामा टुङ्ग्याइनेछ । यात्राका क्रममा एमालेले ठाउँठाउँमा आमसभाको आयोजना गर्नेछ। यात्राको समापन भने पुस ५ गते काठमाडौँमा गर्ने एमालेको तयारी छ।