काठमाण्डौँ । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबमा विजयी शुरुवात गरेको छ । आज सोमवार पोखरा रङ्गशालामा भएको खेलमा आर्मीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘निलो’ लाई १ सय १० रनको फराकिलो अन्तरले हरायो ।
आर्मीले दिएको १ सय ९६ रनको विशाल लक्ष्य पछ्याएको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘निलो’ १५ ओभर ४ बलमा ८५ रनमा अल आउट भयो । मदन भण्डारी ‘निलो’ का कप्तान निर्भिक पाठकले सर्वाधिक २८ रन बनाए । बलिङतर्फ आर्मीका कुशल मल्लले ३ तथा जितेन्द्र मुखिया र शाहब आलमले समान २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९५ रन बनायो । आर्मीका सन्तोष कार्कीले ४१, कप्तान विनोद भण्डारीले ३८, विवेक यादवले नट आउट २९, कुशल मल्लले २५ र बसिर अहमदले २३ रन जोडे । बलिङतर्फ मदन भण्डारी ‘निलो’ का मिहूल श्रेष्ठले २ विकेट लिए ।