काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९१ औं महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर अष्ट्रिया प्रस्थान गरेका छन् ।
प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने नेपाल प्रहरीले जनाएको छ ।
इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म सञ्चालन हुने महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली आइतबार बिहान अष्ट्रिया प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
इन्टरपोलको १०० औं वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली इन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी भएका हुन् ।
उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित विदाइ गरेका छन् ।
इन्टरपोलका सबै १९५ सदस्य राष्ट्रहरुका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानहरूमा भाग लिनेछ । साथै, प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डल तथा इन्टरपोलका अध्यक्ष र महासचिवबीच शिष्टाचार भेटघाट तथा छलफल हुने कार्यक्रम समेत छ ।




















