काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’लाई तीनकुनेमा कार्यक्रम गर्न नदिने भएको छ ।
प्रसाईंले काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार कार्यक्रम गर्ने उद्घोष गरेपनि गलत मनसायले कार्यक्रम गर्न लागिएले अनुमति प्रदान नगरेको प्रशासनको विज्ञप्तिमा उल्लेख छ ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले कार्यक्रम समापनका क्रममा र पत्रकार सम्मेलनमार्फत उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी शुक्रबारदेखि काठमाडौंको तीनकुने क्षेत्रमा भेलारजम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने र शान्ति सुरक्षा तथा अमनचयन विथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानार्कषण भएको छ। यसरी गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन।’ सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता रविन्द्रप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा विना हातहतियार शान्तिपूर्वक भेला हुने संविधान तथा प्रचलित कानुन प्रदत्त अधिकारको उपभोग र सोको सम्मान गर्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
प्रसाईंले गणतन्त्रविरोधि अभियानको थालनी गरेपछि प्रशासनले कडाई गरेको हो । प्रसाईँले बिहीबार शुक्रबारदेखि हरेक दिन तीनकुनेमा भेला भएर आन्दोलन गर्ने र राजनीतिक दलका नेताका घर र सिंहदरबार घेर्ने उद्घोष गरेका थिए । मेडिकल व्यवसायी प्रसाईं नेतृत्वको समूहले राजतन्त्र पुनर्स्थापना नभएसम्म निरन्तर आन्दोलनमा रहने उद्घोष गरेको छ ।





















