काठमाडौँ । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा यही मङ्सिर ७ देखि १५ गतेसम्म सञ्चालन हुने ‘केपी ओली कप राष्ट्रिय टी—२० क्रिकेट’ प्रतियोगितामा १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
आज पहिलो दिन बागमती प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातोबीच खेल हुदै छ । यो खेल बिहान ११ बजेदेखि पोखरा रंगशालामा हुदै छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गर्ने प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको च्याम्पियन टोलीलाई रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले बताएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ रु २० हजार र ‘म्यान अफ द म्याच’ ले नगद रु पाँच हजार पुरस्कार पाउनेछन् । खेल सम्पन्न गर्नका लागि रु ७५ लाख खर्च लाग्ने र विभिन्न व्यापारिक प्रतिष्ठान, स्थानीय सरकारबाट सहयोग सङ्कलन गरिएको आयोजकले जनाएको छ ।