काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा मंसिर ७ गते काठमाडौंमा हुने प्रदर्शनमा भाग लिन आएका महिलाहरूको समूहलाई मध्यराति पार्टी प्यालेसबाट निकालिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित लोकन्थलीको इन्द्रसान पार्टी प्यालेसमा सुत्न लागेका महिलाहरूलाई मंगलबार राति १० बजेतिर निकालिएको भिडियोमा देखिन्छ ।
सामाजिक सञ्जाल फेसबुक, एक्समा सार्वजनिक भएको भिडिओमा सुत्ने तयारी गरिरहेका महिलाहरूलाई युवाहरूको समूहले त्यहाँबाट बाहिर निस्कन भनिरहेको सुनिन्छ ।
‘७ गतेको कार्यक्रममा आउनुभएको हो ? हेलो दिदीहरू ?,’ भनेको आवाज भिडिओमा सुनिन्छ।
जवाफमा महिलाहरूले भनेका छन्– ‘हामी जान्छौं, लुगा लगाउन दिनुस् हामीलाई।’ युवाहरूले महिलाहरूलाई छिटो पार्टी प्यालेसबाट निस्कन भनेका थिए । एक जना युवाले भिडिओ खिच्दै भनेका छन्– ‘दुर्गा प्रसाईंलाई फोन गर्नू, युवा संघले हामीलाई निकाल्यो भनेर ।’
‘हेलो दिदीहरू दुर्गे प्रसाईंलाई फोन गर्नुस् युवा संघले लखेट्यो भनेर, गइहाल्नु गइहाल्नु,’ ती युवाले भनेका छन् । साथै युवाहरूले प्रदर्शनका लागि आएकाहरूलाई काठमाडौंमा कतै पनि बास बस्न नदिने भनेको भिडिओमा सुनिन्छ । महिलाहरूले राति भएकोले पार्टी प्यालेसमा बस्न दिन आग्रह गरेका थिए ।
पार्टी प्यालेसबाट निकालिएपछि महिलाहरूले मेडिकल व्यवसायी प्रसाईंलाई फोन गरेका थिए । केही बेरपछि सो स्थानमा प्रहरी पुगेका थिए ।
डिएसपी पवन भट्टराईको नेतृत्वमा प्रहरी खटिएर महिलाहरूको समूह भएको ठाउँमा पुग्दा पार्टी प्यालेसमा ताला लगाइसकेको थियो । प्रहरीले महिलाहरूको समूहलाई त्यही पार्टी प्यालेसमा वस्ने व्यवस्था मिलाएको थियो भने रातभरी सुरक्षा पनि दिएको थियो । महिलाहरुको समूह आज विहान गौशालातिर गएको प्रहरीले जनाएको छ ।
महिलाहरूमाथि अभद्र व्यवहार गर्ने युवा समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ। सिसिटिभी फुटेज हेरेर थप अनुसन्धान अघि बढाइएको र सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्नेहरूलाई खोजी गरिएको डिएसपी भट्टराईले बताएका छन् ।
नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघका अध्यक्ष क्षितिज थेवेले महिलाहरूलाई पार्टी प्यालेसबाट निकालिएको घटनामा युवा संघको संलग्नता छ कि छैन भनेर आन्तरिक रूपमा छानबिन भइरहेको बताएका छन् । त्यस्तै उनले महिलाहरुलाई त्यही बस्ने व्यवस्थाका लागि प्रहरीलाई आफूले आग्रह गरेको पनि बताएका छन् ।
घटनाबारे आफूले प्रहरीबाट थाहा पाएको बताउँदै अध्यक्ष थेवेले युवासंघलाई बदनाम गराउन सामाजिक सञ्जालमा त्यो भिडिओ आएको पनि हुन सक्ने बताएका छन् ।
अमानवीय र अमर्यादित गतिविधि गर्ने युवा संघको कुनै योजना नरहेको बताउँदै उनले युवा संघका कोही कसैको यो घटनामा जोडिएको पाइएमा कारवाही गर्ने स्पष्ट पारेका छन् ।
काठमाडौंमा मंसिर ७ गते युवा संघ र प्रसाईं पक्षले कार्यक्रम गर्न लागेका छन् । दुवै टोलीले माइतीघरमा कार्यक्रम गर्ने सम्भावना देखेपछि काठमाडौं प्रशासनले एक महिना माइतीघर(नयाँ बानेश्वर क्षेत्र निषेधित क्षेत्र तोकेको छ भने दुवै पक्षलाई कार्यक्रम गर्ने स्थानसमेत तोकिदिएको छ ।
प्रशासनको आग्रहमा युवा संघले तीनकुने र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले मंसिर ७ गते बिहीबार वल्खुमा प्रदर्शन गर्दैछन् ।
युवा संघले आफ्नो कार्यक्रमलाई ‘मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव र जुनसुकै अराजकताविरुद्ध’को प्रदर्शन भनेको छ । प्रसाईंले नागरिक मुक्ति आन्दोलन भन्दै ‘व्यवस्था बदल्ने’ प्रदर्शन भनेका छन् ।




















