काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पुतलीसडकको पद्मोदय मोडदेखि सर्वोच्च अदालत, माइतीघर हुँदै नयाँ बानेश्वरसम्म कुनै पनि भेला वा प्रदर्शनजन्य कार्यक्रम गर्न नपाइने गरी प्रशासनले आदेश जारी गरेको छ।
आजदेखि ३० दिनसम्म यो निषेधाज्ञा कायम हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । मंसिर ७ गते काठमाडौंमा हुन लागेको नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईको प्रदर्शनलाई लक्षित गर्दै एक महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको विज्ञप्ति अनुसार मंसिर ४ देखि ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको जनाइएको छ।
अब सो क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेलाई भई जुलुस, प्रदर्शन, धर्ना घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।





















