काठमाडौं । शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भइ घाइते बनाउने १४ जना पक्राउ परेका छन् । शुक्रबार राति ४ जना र आज बिहान १० जना गरी १४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आज बिहान पक्राउ पर्नेमा तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रणजित तामाङसहित १० जना पक्राउ परेका छन् भने शुक्रबार राति जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवा पक्राउ परेका थिए ।
नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा विवाद हुँदा शुक्रबार राति प्रहरी र स्थानीयबीच झडप भएको थियो ।
सबस्टेसनको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठकबाट प्रहरी नायव उपरीक्षक (डिएसपी)को नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय अनुसार शुक्रबार प्रहरीको टोली लप्सीफेदी पुगेको थियो । तर, स्थानीयले बाटोमा रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरुलाई ढुङ्गामुढा गर्दा डीएसपी देवराज राईसहित तीन जना सुरक्षाकर्मी घाइते भएका थिए ।
शंखरापुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सूर्यबहादुर तामाङले बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग रहेको बताएका छन् । स्थानीयले आफ्ना माग दोहोर्याउँदै प्रदर्शन गरिरहेका बेला प्रहरी पुग्दा झडप भएको वडाअध्यक्ष तामाङले बताएका छन् ।




















