काठमाडौँ । नेपालीहरूको दोस्रो महान् चाड तिहारको तेस्रो दिन आज देशभर गाईपूजा गरेर मनाइँदै छ ।

घरमा गाई पाल्नेहरूले घरमै र नहुनेहरूले गौशालामा गई गाईको पूजाआजा गरेका हुन् ।

कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिई मनाइन्छ । आज गौशालामा गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।

आजका दिन पशुपतिस्थित वेद विद्याश्रममा रहेका बटुकहरूले पनि विधिपूर्वक गाईपूजा गरेका छन् । अरू वर्ष लक्ष्मीपूजाकै दिन गाईपूजा गर्ने चलन भए पनि तिथिअनुसार यो साल आइतबार नै लक्ष्मीपूजा सम्पन्न भएको छ ।

धार्मिक मान्यता अनुसार पापी मान्छे वैतरणी नदी तर्न सक्दैन । तर हरेक वर्ष विधिपूर्वक गाईपूजा गर्ने मान्छे गाईको पुच्छर समातेर पनि नदी पार गरेर स्वर्ग लोक जान सक्छ भन्ने पौराणिक कथन छ । त्यसैले जनैपूर्णिमाको दिन बाँधेको रक्षाबन्धनलाई पनि यसै दिन गाईको पुच्छरमा बाँधेर विसर्जन गर्ने परम्परा चलिआएको छ ।






















