काठमाडौं । प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताएका छन् ।
बिहीवार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनयुद्धलाई जति दबाउन खोजे पनि पटक–पटक उठिराख्ने बताएका छन् । उनले जनयुद्धलाई दबाइयो भने चिहानबाट भए पनि फेरि उठ्ने बताए । उनले हजारौँ मान्छेहरुले आफूखुशी बलिदान गरेको आन्दोलनलाई कसैले एकछिन दबाए पनि फेरि उठ्ने बताए । प्रधानमन्त्री दाहालले उनले आफूले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेर अरु कुनै प्रधानमन्त्रीले पनि गर्न नसकेको काम गरेको बताए । पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणमा भुमिका खेलेको भन्दै उनले उहाँको सो भुमिकालाई सम्मान गर्नु कर्तव्य हुने बताए ।
प्रधानमन्त्री दाहालले जनयुद्ध पृथ्वीनारायण शाहको राज्य एकीकरणपछि दोस्रो ठुलो जनताको तहबाट भएको बिद्रोह र पहलकदमी भएको उल्लेख गरे । उनले जनयुद्धको आधिकारिक र प्रमाणिक व्याख्या हुन अझै बाँकी रहेको भन्दै समयक्रममा यसको आधिकारिकक र प्रमाणिक व्याख्या हुने विश्वास व्यक्त गरे । उनले अहिले जनयुद्धलाई विद्रुपिकरण गरेर निरंकुशतालाई अगाडी ल्याउने जमर्को भइरहेको बताए ।
प्रधानमन्त्री दाहालले पूर्वउपराष्ट्रपति पुनले पुस्तकमा कतिपय घटनाक्रमहरु सिधा सिधा लेखेको भन्दै त्यसको गलत व्याख्या हुन सक्ने बताए । उनले पुस्तकमा लेखिएको कतिपय घटनाक्रमहरुको गलत व्याख्या भएमा लेखकको इमान्दारितामाथि अन्याय हुने बताए । उनले पुस्तकमा लेखिएको कुरालाई लेखकको पारदर्शिता, इमान्दारिता र निष्ठाको रुपमा बुझ्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै पूर्वउपराष्ट्रपति पुनले पुस्तकमार्फत आफ्नो राजनीतिक संलग्नता र उतारचढावहरुको बारेमा उल्लेख गरिएको बताए । उनले १२ बुँदे समझदारीप्रति भ्रम फैलाइएको भन्दै सो समझदारीको सम्बन्धमा स्पष्ट कुरा पुस्तकमा उल्लेख गरिएको बताए । त्यस्तै नेपालको शान्ति प्रक्रियाको सम्बन्धमा अनमिनले खेलेको भुमिकाका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको उनको भनाई छ ।
उनले पुस्तकमा जनयुद्धकालमा अध्यक्ष दाहालदेखि अन्य नेताहरुसँगको आफ्नो सम्बन्ध, राजनीतिक भुमिकाहरुको पनि पुस्तकमा चर्चा गरिएको बताए ।




















