महोत्तरी । महोत्तरीको औरहीबाट बेपत्ता भनिएका ५ जना किशोरी प्रहरीको सम्पर्कमा आएका छन् । गत दुई दिनदेखि सम्पर्कविहीन भएका उनीहरू ढल्केबरबाट सम्पर्कमा आएका हुन् ।
घरपरिवारबाट यातना दिएको हुनाले घर छाडेर हिँडेको उनीहरुले बताएका छन् । सम्पर्कमा आए पनि उनीहरुले घर फर्कन भने अस्वीकार गरेको प्रहरीले जनाएको छ ।
महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा गत मंगलबारदेखि परिवारका सदस्यहरुको सम्पर्कमा थिएनन् ।
`उनीहरु घर फर्कन चाहेका छैनन, हामी मेयरका घरमा जान्छौ भनेका छन्,´ किशोरीहरुलाई उद्धृत गर्दै गौशाला प्रहरी प्रमुख मनोज यादवले भने ।
घरबाट किन यातना दिएको थियो भन्ने अझै खुल्न सकेको छैन । प्रहरीले यस विषयमा पनि थप अनुसन्धान गरिरहेको प्रमुख यादवले जानकारी दिए । आफूहरुलाई घर नफर्काउन अडान लिएका किशोरीहरुलाई प्रहरीले नगरको जिम्मा लगाउने तयारी गरेको छ ।























