गाजापट्टी । जबलिया, साबरा र खान युनिसमा पछिल्लो इजरायली हमलामा दर्जनौं मारिएका छन् ।
प्यालेस्टिनी समाचार एजेन्सी वाफाले बिहीबार बिहान उत्तरी गाजाको जबलियामा इजरायली बमबारीमा महिला र बालबालिकासहित कम्तीमा ३० प्यालेस्टाइनीको मृत्यु भएको जानकारी दिएको छ ।
समाचार अनुसार शरणार्थी शिविरमा रहेका दुईवटा आवासीय भवनलाई ध्वस्त पार्ने क्रममा भएको सो आक्रमणमा परी दर्जनौं घाइते भएका छन् ।
वाफाको रिपोर्ट अनुसार इजरायली विमानले जबलियाको अल–यमन अल–सईद अस्पतालको छेउमा एउटा नागरिक कारलाई निशाना बनाएको थियो, जसमा १९ व्यक्तिको मृत्यु भएको थियो र अन्य धेरै घाइते भएका थिए ।
जबलियाको एक घरमा बम विष्फोट भएपछि थप पाँच जनाको शव इन्डोनेसियाली अस्पताल र दुई जनाको कमल अडवान अस्पतालमा लगिएको थियो ।
उता, गाजाको पश्चिमी भागमा रहेको अल–सब्रामा पनि कम्तीमा आठ जनाको मृत्यु भएको बताइएको छ ।
यसैबीच, खान युनिसको पूर्वमा रहेको बानी सुहैला सहरमा रहेको अबु तैम परिवारको घरमा छुट्टाछुट्टै आक्रमणमा एक बालकसहित १० जनाको मृत्यु भएको छ ।

























