काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रंगशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम गरिने बताएका छन्।
टी-२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरूमा घोषणा गरिएको पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै त्यसका लागि सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने बताए।
उनले आफूले क्रिकेट हेर्दै आएको र नेपाली टीम ‘बेस्ट’ भएको बताए। उनले क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने बताए। भरतपुर, मुलपानी र कीर्तिपुरको काम अगाडि बढाएर आम नेपालीको भावनाको सम्बोधन गर्ने उनले बताए ।
उनले सरकारले घोषणा गरेको पुरस्कार वितरणमा अलि ढिलाई भएको भन्दै आफूलाई नमीठो लागेको बताए ।
कार्यक्रममा नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेल सरकारले क्रिकेट खेललाई दिएको महत्वबाट आफूहरू उत्साहित भएको बताए ।