काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पमा परेकाहरूको उद्धार र राहतका लागि सक्रिय रुपमा जुट्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गए राति गएको ६.४ म्याग्निच्युडको भूकम्पले क्षति गरेको जाजरकोट र रुकुममा उद्धार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका हुन्।
घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्। घाइतेहरूको उद्धारका लागि औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भइरहेको छ।
प्रधानमन्त्री दाहाले उक्त घटनाप्रति दु :ख व्यक्त गरेका छन्। ‘जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गहिरो दु:ख व्यक्त गर्दै घाइतेहरूको तत्काल उद्धार र राहतका लागि ३ वटै सुरक्षा निकायलाई परिचालित गर्नुभएको छ’, प्रधानमन्त्री सचिवालयले उल्लेख गरेको छ।




















