विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका नेतालाई पनि सरकारमा सहभागी गराउन तयार भएका छन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार आजै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक–एक जना मन्त्री नियुक्त गर्ने र आजै सपथ गराउने तयारी छ ।
मुख्यमन्त्री कार्कीले कांग्रेसको संस्थागत निर्णयविरुद्ध विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा साथ दिएका पार्टीका नेता रामकुमार खत्रीलाई पनि मन्त्री बनाउने बनाइएको छ । माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगू मन्त्री बन्ने सम्भावना रहेको स्रोतले बताएको छ ।
नेपाली कांग्रेसले माओवादीका नेतालाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरेपछि नेकपा एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार २७ भदौमा कार्की मुख्यमन्त्री बनेका थिए ।
कार्कीले २८ भदौमा कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । आज थपिने मन्त्रीलाई पनि तत्कालका लागि विना विभागीय नै हुने बताइएको छ ।
कार्कीले सहमतीय सरकार बनाउन भन्दै एमालेसँग छलफल गरेपनि एमालेले माओवादी र नेकपा एकीकृत समाजवादी सरकारमा आए आफूहरु बाहिरिने चेतावनी दिएको छ । अब एमालेले के निर्णय गर्छ त्यो भने केही दिनमा थाहा हुने छ ।

























