काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सेनाले जिम्मा लिएको आयोजनालाई निर्धारित मितिमै सम्पन्न गर्न ठेकेदारलाई जिम्मेवार बनाउनुपर्ने बताएका छन् ।
शुक्रबार रक्षा मन्त्रालयमा आयोजित प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले ठेकेदारले कुनै पनि बहानामा काम नगरेको अवस्थामा कडाईका साथ प्रस्तुत हुन निर्देशन दिएका छन् । उनले गुणस्तरमा कुनै पनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् ।
मुलुकका साथै नेपाली सेनाको प्रतिष्ठासँग जोडिएको काठमाडौँ तराई मधेस द्रुत मार्ग निर्धारित मितिमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उनले विस २०८३ चैतसम्म निर्माण सम्पन गर्नेगरी काम गर्न निर्देशन दिएका छन् ।
त्यस्तै उनले समस्यालाई चाङ लगाएर राख्नेभन्दा पनि तत्कालै समाधान गरेर जानुपर्ने बताएका छन् । समस्या मात्र प्रस्तुत गर्ने नभई समस्याका कारण र समाधानको उपायसमेत प्रस्तुत गर्न उनले निर्देशन दिए । खड्काले मुलुकको समृद्धिमा बाधा सिर्जना गर्ने ऐन कानुन संशोधन गर्न अध्यादेश ल्याइने जिकिर गरेका छन् ।
त्यस्तै राष्ट्रिय योजना आयोगका कार्यवाहक उपाध्यक्ष डा. रामकुमार फुयाँलले एकद्वार प्रणालीबाट विकास आयोजनाका समस्या समाधान गर्ने गरी आयोगले गृहकार्य गरिरहेको जानकारी दिएका छन् ।

























