काठमाडौं । राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका योगराज ढकाल ‘रिगल’ पुनः पक्राउ परेका छन् । सर्वोच्च अदालतले रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिए लगत्तै प्रहरीले उनलाई बाँकेको नेपालगन्जबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले नेपालगन्जको न्यूरोडबाट पक्राउ गरेको एसपी सुवासचन्द्र बोहराले बताएका छन् ।
चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगिरहेका रिगललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवशका अवसरमा असोज ३ गते आममाफी दिएका थिए । माफी पाएसँगै रिहा भएका रिगललाई पुनः पक्राउ गरी कारवाहीको माग गर्दै भारती शेर्पाले सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुका साथै अनसन समेत बसेकी थिइन् ।