वीरगन्ज । बाराको कलैया उपमहानगरपालिका -६ मदर्शा टोलस्थित बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा सञ्चालक रुपेश स्वर्णकारको हत्या विवाहेत्तर प्रेमसम्बन्धका कारण भएको प्रहरीले पुष्टि गरेको छ ।
मदर्शा टोलमै घर भएका ३६ वर्षीय रुपेश गत सोमबार दिउँसो मोटरसाइकलमा घरतर्फ जाने क्रममा दुईवटा मोटरसाइकलमा आएका चारजना बन्दुकधारीले चार राउण्ड गोली हानी हत्या गरेका थिए ।
रुपेशको हत्या घटनाबारे जानकारी दिन बुधबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरेका प्रहरी उपरीक्षक सुरेश काफ्लेले दुई छोराका बुबा समेत रहेका रुपेशको हत्या एक युवतीसँग विवाहेत्तर प्रेम सम्बन्धका कारण गरिएको पुष्टि भएको बताए ।
प्रहरी उपरीक्षक काफ्लेका अनुसार, रुपेशकै स्कुलमा पहिले लेखापाल पदमा कार्यरत पूर्वकर्मचारी कलैया ३ मदर्शा टोलकै २२ वर्षीया राधा गुप्ता र उनका प्रेमी भारत घर भएका मनोज गुप्ताले मिलेर गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।























