काठमाडौँ । शेयर बजार नेप्सेले बुधबार पनि झर्ने क्रमलाई निरन्तरता दिएको छ। बुधबार नेप्से परिसूचक ५.८३ अंक घटेर १८५८.५६ विन्दुमा झरेको छ।
त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंक घटेको छ ।
नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ। अघिल्लो दिन ५७ करोडको शेयर कारोबार भएको बजारमा २९६ स्टकको ७७ हजार ८७० पटकको कारोबारमा ८१ करोड २० लाख ८९ हजार रुपैयाँ बराबरको ३३ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । लगानी उपसमूहको परिसूचक ०.०८ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०१ प्रतिशत घटेको छ।
बुधबार सयपत्री हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.३९ प्रतिशत बढेको छ। त्यस्तै, हिमालयन लघुवित्तको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ भने रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको सोनापुर मिनरल्सको शेयरमूल्य यस दिन सर्वाधिक ७.९९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन सिद्धार्थ इक्विटी फण्डको इकाईमूल्य करिब ८ प्रतिशत घटेको छ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाईमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १४ करोड ६० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आशा लघुवित्त वित्तीय संस्थाको ७ करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ।

























