काठमाडौँ । नेकपा एमालेले आज चाडपर्वको अवसरमा चियापान कार्यक्रम गर्दैछ । हरेक वर्ष झै दसैँ, तिहार, नेपाल संवत्, छठ, इद, ल्होसार लगायतका पर्वका अवसरमा यस वर्ष पनि एमाले पार्टीको केन्द्रीय कार्यालय च्यासलमा चियापान कार्यक्रम आयोजना गरेको हो ।
दिउँसो सवा १२ बजेदेखि सुरु हुने चियापानमा प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, विभिन्न राजनीतिक दलका प्रमुख, नेता, संवैधानिक निकायका प्रमुख, राजदूत, सुरक्षा निकायका प्रमुख, सरकारी अधिकारी, सञ्चारकर्मी लगायतलाई आमन्त्रण गरिएको एमालेले जनाएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् पायक पर्ने सर्वसाधारणलाई पनि चियापान समारोहमा उपस्थित हुन सबैलाई निम्तो दिएका छन् ।
एमालेले मंगलबार नै चियापान गर्ने कार्यक्रम थियो । तर, मंगलबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक भएपछि एमालेले आजको लागि चियापान कार्यक्रम सारेको थियो ।