
बारा । गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको मङ्गलवार हिन्दू परम्पराअनुसार दाह संस्कार गरिएको छ ।
पसहा खोलमा उनको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । यसअघि एन प्याब्सनका पदाधिकारीले संस्थाको झन्डा ओढाई सर्राफमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।
मृतक सर्राफको श्रीमतीसहित दुई छोरा छन् । उनलाई श्रद्धाञ्जली अर्पण गर्न ठूलो सङ्ख्यामा शुभचिन्तकहरू कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित उनको निवासमा पुगेको थिए ।
कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद साह, नेकपा (माओवादी केन्द्र)का युवा नेता मुकेश साह, नेपाली कांग्रेसका युवा नेता लुकेश सिंहलगायत विभिन्न राजनीतिक दलका नेता, नागरिक अगुवा, निजी तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिका, आफन्तजन, पत्रकार, सुरक्षाकर्मीलगायतले सर्राफको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उपमहानगरपालिका भित्रका शिक्षक तथा पेशागत विभिन्न संघ–सङ्गठनहरूले घटनाको निन्दा गर्दै शोक मनाउने निर्णय गरेका छन् ।
यस्तै बारा उद्योग वाणिज्य सङ्घले पनि एक विज्ञप्ति जारी गर्दै हत्याको विरोधमा बजार बन्द गर्न आह्वान गरेको छ। संघका अध्यक्ष राजकुमार साहद्वारा जारी विज्ञप्तिमा मङ्गलवार साँझसम्म बजार बन्द गरी सहयोग गर्न उद्योगी तथा व्यापारीहरूसँग अपिल गरिएकाले अहिले बजार पूर्णरूपमा बन्द छ ।
एन प्याब्सनले पनि सोमबार नै विज्ञप्तिमार्फत उक्त घटनाको निन्दा गर्दै दोषीलाई कार्यवाहीको दायरामा ल्याउन माग गर्नाका साथै २४ घण्टाभित्र वास्तविक अपराधी समात्न नसके चरणबद्ध आन्दोलन गर्ने जनाएको छ ।
कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले तीन वटा गोली प्रहार हत्या गरेकाले जिल्लावासीमा त्रासको वातावरण छाएको छ ।
कलैयास्थित मदर्शा टोलमा दुईवटा नेपाली मोटरसाईकलमा आएका चारजना अज्ञात व्यक्तिले तीन राउण्ड गोली सर्राफलाई हानेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिएका छन् । हत्या गरिएको ठाउँ जिल्ला प्रहरी कार्यालयभन्दा पाँच मिनेटको दूरीमा पर्दछ ।
गोली लागेर सख्त घाइते सर्राफलाई कलैया प्रादेशिक अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि विरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसअघि गत साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिए पनि त्यति बेला उनी बाँच्न सफल भएको पक्राउ परेकाहरूले प्रहरी समक्ष बयान गरेको दिएको अनुसन्धानमा खटिएका एक प्रहरीले जानकारी दिएका छन् ।
हत्यामा संलग्न भएको आरोपमा बारा प्रहरीले मनोज गुप्तासहित ३ जना भारतीय, सृष्टी (नाम परिवर्तन) र उनकी दिदीसहित ६ जनालाई पक्राउ गरेको छ । सो घटनामा अन्य थप दुईजनाको पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रधानाध्यापक रुपेशको हत्याको कारण विवाहेत्तर सम्बन्ध रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बाराका अनुसन्धान अधिकृतहरुका रुपेश आफ्नै स्कुलका पूर्वशिक्षिका सृष्टीसँग प्रेम सम्बन्धमा थिए ।
सम्बन्धमा खटपट आएपछि प्रेमिका समेतको संलग्नतामा उनको गोली हानी हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका मनोज श्रृष्टिका अर्का प्रेमी भएको बताइएको छ । रुपेशका श्रीमती, एक छोरा र एक छोरी छन् ।
अहिले दस जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा सुक्षमरुपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























