काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनबिच भेटबार्ता भएको छ । अमेरिकाको संघीय राजधानी वासिङ्टन डिसीमा भएको सो भेटमा दुवैले नेपाल–अमेरिकाबीचको जारी साझेदारीका बारेमा बिस्तृत छलफल गरेका छन ।
सो भेटमा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजनाका विषयमा पनि छलफल भएको जनाईएको छ ।
नेपालको पूर्वाधार निर्माण, बिजुलीमा पहुँच र विस्तार तथा सीमापार विद्युत् व्यापारलाई समर्थन गर्दै रहयोग गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी प्रतिबद्धता जनाएको बताईएको छ ।
भेटमा अमेरिकाले नेपालका साना तथा मझौता उद्यम विकासका लागि साढे १६ अर्ब नेपाली रुपैयाँ भन्दा बढी ऋण दिने विषयमा छलफल भएको बताइएको छ ।
द्विपक्षीय भेटवार्तापछि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले जारी गरेको विज्ञप्तिमा नेपाल–अमेरिका साझेदारीको सुदृढीकरणमा जोड दिएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ “ भर्खरै सुरु गरिएको ५०० मिलियन अमेरिकी डलर अनुदान सहयोगको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परियोजना कार्यान्वयनले पूर्वाधार निर्माण गर्ने, बिजुलीमा पहुँच बढाउने र सीमापार विद्युत व्यापारका विषयमा छलफल भयो, उनीहरूले नेपालमा विस्तारित विकास वित्त निगमको लगानी, साना तथा मझौला उद्यमहरूलाई ऋण उपलब्ध गराउन नेपाली बैंकलाई १२५ मिलियन अमेरिकी डलर नयाँ ऋण दिनेलगायतका विषयमा छलफल गरेका छन् ।”
नेपाली राजदूतावासका अनुसार परराष्ट्रमन्त्री साउदले अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि नेपालका विकास प्राथमिकताबारे उल्लेख गरेका थिए । उनले व्यापार तथा लगानी, बजार पहुँच, खाद्य सुरक्षा र सूचना प्रविधिलगायतका क्षेत्रमा अमेरिकाबाट थप सहयोग गर्न आह्वान गरेका छन् ।
दूतावासद्वारा जारी विज्ञप्तिमा परराष्ट्रमन्त्री साउदले नेपालका लागि नयाँ निर्यात योग्य वस्तुहरू थपेर नेपाल व्यापार प्राथमिकता कार्यक्रम (एनटीपीपी) र जेनरलाइज सिस्टम फर प्रिफरेन्स (जीएसपी) सुविधाको पुनः प्रमाणीकरण र विस्तार गर्न अमेरिकालाई अनुरोध गरेका छन् ।

























