सोलुखुम्बु । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रमा देखिएको असरसँग लड्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उच्च हिमाली क्षेत्रको अवलोकनका क्रममा सोमबार सोलुखुम्बुको खुम्जुङ आएका गुटेरेसले जलवायु परिवर्तनको मारमा हिमाली क्षेत्र परेको भन्दै असर न्यूनिकरणका लागि सहयोग गर्न संयुक्त राष्ट्रसंघ तयार रहेको बताएका हुन् ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत खुम्बु पासाङ ल्हामु गाउँपालिका- ४ खुम्जुङ आएका गुटेरेसले स्थानीयसँगको अन्तरक्रियामा विकसित राष्ट्रहरुको नियति विकशिल राष्ट्रहरुले भोग्नु परेको भन्दै दुःख व्यक्त गरे ।
विश्वका ठूला तथा विकासित शक्ति राष्ट्रहरुका कारण वातावरण प्रदूषण भएपनि त्यसको प्रत्यक्ष मारमा भने नेपालजस्ता साना राष्ट्रहरु परेको उनको भनाइ छ ।
जलवायु परिवर्तनको असर नेपालसहित विश्वकै टाउको दुखाइको विषय बनेकाले जलवायु परिवर्तनको असरसँग लड्न सबैको हातेमालो आवश्यक रहेकोमा महासचिव गुटेरेसले जोड दिए ।
विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमालहरुमा हिउँ पग्लिदै जानु जलवायु परिवर्तनको ठूलो असर भएकाले यसको न्यूनिकरणका लागि सहयोग गर्न राष्ट्रसंघ सधै तयार रहेको उनको भनाइ छ ।
करिब २ घण्टा खुम्जुङमा स्थानीय, अगुवा, पर्यटन व्यवसायी तथा जनप्रतिनिधिसँग अन्तरक्रिया गरेका गुटेरेससँग खुम्बुका नागरिकहरुले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पग्लिदै गएको र हिमाल कालापत्थरमा परिणत भएकाले हिमाली बस्ती जोखिममा रहेको बताए ।
हिमालमा हिउँ पग्लिएसँगै हिमाली बस्ती हिमपहिरोको उच्च जोखिममा रहेको उनीहरूको भनाइ थियो । साथै सगरमाथाको फोहोर सफा गर्ने विषय नेपालका लागि निक्कै पेचिलो भएकाले यसमा सहयोग गर्न स्थानीयले संयुक्त राष्ट्रसंघसँग आग्रह गरेका छन् ।

























