रुपन्देही । पाल्पाको रानिमहल नजिकै भएको स्कारपियो जिप दुर्घटनामा परि ज्यान गुमाउनेहरु ६ जना एकै परिवारका भएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेहरुमा तिन महिला, एक पुरुष र दुई बालक रहेका छन् ।
मृत्यु हुनेहरुमा पुर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं १६ रजहर का ६५ वर्षीय कृष्ण बहादुर लोहनी, उनकी श्रीमती ५५ वर्षीय पार्वती लोहनी, उनकी आफन्त ५५ बर्षिय चुना धिताल, बुहारी ३५ वर्षीय सविना धिताल,र नाती ११ वर्षीय सोविस लोहनी र साढे २ वर्षका अर्का एक बालक रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि जिपका चालक ३६ बर्षिय ईश्वर बहादुर लोहनी गम्भिर घाईते छन् । उनी मृतक लोहनीका छोरा हुन् ।
घाईते ईश्वर लोहनीको जिल्ला अस्पताल पाल्पामा उपचार भई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका ईन्चार्ज प्रहरी नायब निरिक्षक राजकुमार चापागाईले जानकारी दिए।
पाल्पाको रानिमहल अवलोकन गरेर फर्कने क्रममा उनीहरु सवार वाग्मती प्रदेश ०१–०२६ च ७२०९ नं. को स्कारपियो जिप पाल्पाको तानसेन नगरपालिकाको बैकुन्ठे छाँगोमा दुर्घटनामा परेको थियो।
पाल्पाको पर्यटकीयस्थल रानीमहल घुम्न गएकाहरुलाई लिएर फर्किदै गरेको जिप उकालो सडकमा पछाडि हटेर दुर्घटनामा परेको हुन सक्ने आशंका गरिएको छ। प्रहरीका अनुसार दुर्घटनास्थल अप्ठ्यारो भिर रहेको र जीप बराङदी खोलाको खोँचमा झरेकोले प्रहरीलाई समयमै उद्धारमा समेत कठिनाई भएको थियो।
सडकबाट झण्डै एकसय मिटर तल छाँगो बाट खसेको जिप खोलाका ढुंगामा बजारिएर क्षतविक्षत भएको छ। जिप खोलामा झरेको छ भने मृतकहरुको शवलाई खोलामा डुबेको अवस्थामा उद्धार गरिएको थियो।
कतिपय मृतक गाडीले चेपिएको अवस्थामा रहेकोले प्रहरीलाई उद्धारमा समय लागेको थियो । सांझ ५ बजेतिर भएको उक्त दुर्घटनाका मृतक तथा घाईतेहरुलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका थिए ।
दुर्घटनास्थल पाल्पा सदरमुकाम तानसेनदेखि ११ किलोमिटर टाढा पर्छ भने रानीमहलबाट फर्किएको डेढ किलोमिटरको दुरीमै जिप दुर्घटनामा परेको थियो ।