काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा दसैंलगत्तै चीन भ्रमणमा जाने भएका छन् । प्रधानसेनापति शर्मा कात्तिक १० गते चीन गएर १६ गते फर्किनेछन् ।
चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा प्रधानसेनापति शर्मा चीन जान लागेका हुन्।
चीनमा रहेका बेला उनले सैनिक सहायता, सैन्य तालिमलगायत विषयमा छलफल गर्नेछन् ।
नेपाली शन्ति मिसनका लागि हतियारलगायत मिसनलाई आवश्यक पर्ने सैन्य सामग्रीहरू चीनबाट खरिद गर्ने नेपाली सेनाले तयारी गरेको थियो। विभिन्न कारणले उक्त खरिद प्रक्रिया अगाडि बढेको छैन।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको चीन भ्रमण स्वीकृत गरेको थियो ।
उनी चीनको बेइजिङमा कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दसौं बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।




















