काठमाडौँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जीउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्यमा प्रतिकिलो रु १० छुट दिएको हो ।
कम्पनीले आजदेखि जीउँदो खसीबोका प्रतिकिलो रु छ सय ५० तथा च्याङ्ग्रा प्रतिकिलो रु एक हजार दुई सय २५ मा बिक्री गर्न थालेको छ ।
खाद्यले यसअघि जीउँदो खसीबोका प्रतिकिलो रु १० छुट दिएर रु छ सय ७० तथा च्याङ्ग्रा रु एक हजार दुई सय ५० मा बिक्री गर्दै आएको थियो ।
पशुचौपायाको खरिदबिक्रीमा उपभोक्ताको उल्लेख्य सहभागिता नदेखिएको र लामो समयसम्म खसीबोका तथा च्याङ्ग्रा पाल्दा खर्च बढ्ने भएकाले मूल्य घटाएर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।
उपभोक्तालाई थप सहुलियत दिने उद्देश्यले जीउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाइएको कम्पनीको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् ।
खाद्यले गत असोज ३० गतेदेखि थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको छ।
खाद्यले मकवानपुर, दाङ र कैलालीबाट एक हजार छ सय ५८ खसीबोका तथा रसुवाबाट पाँच सय ५४ च्याङ्ग्रा खरिद गरेर ल्याएको थियो। हालसम्म छ सय ३० वटा मात्रै खसीबोका तथा च्याङ्ग्रा बिक्री भएको कम्पनीले जनाएको छ।

























