पाल्पा । दसैँका लागि नयाँ नोट साट्न राष्ट्रिय वाणिज्य बैंक तानसेनस्थित शाखामा पुगेका तानसेन–५ कैलाशनगरका दिपक अधिकारीले ३ घण्टा कुरेर नयाँ नोट पाएको बताए ।
बिहीबार बिहान बैंक पुगेका उनले नयाँ नोट साट्न विहानभर लाइन बस्नुपरेको गुनासो गरे । तानसेनकै मिना खत्रीले पनि नोट साट्नको लागि अत्यासलाग्दो भिडभाड लाइन लागेरै नयाँ नोट पाइन् । ‘नयाँ नोट पाउने आशामा तीन घण्टा लाइन लागे, निकै कठिन भयो, पहिले पहिले त यस्तो हुँदैन थियो, अहिले पाउनु दुख पाइयो’ खत्रीले भनिन् ।
अधिकारी र खत्रीले मात्र होइन नयाँ नोट लिन पुग्ने अधिकांशले सास्ती भोग्नुपरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुबाट मात्र नयाँ नोट साट्ने व्यवस्था गरेकाले सर्वसाधारणलाई नोट साट्न सास्ती भएको हो । यस पटक अन्य बैंकहरुले नोट साट्न नपाएपछि एउटै बैंकबाट लिनुपर्दा सर्वसाधारण नागरिकको अत्याधिक भिड लागेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले बुधबारदेखि मात्र नोट सटाईको काम थालेको हो । जहाँ बिहानैदेखि नयाँ नोट साट्न सर्वसाधारणको बाक्लो भीड लाग्ने गरेको छ । लामो लाइनमा बसेका सर्वसाधारणलाई नयाँ नोटका लागि घण्टौं कुर्नुपर्दा सास्ती भोग्नुपरेको छ ।
दसैँको बेला टीका लगाउँदा दक्षिणा आदान–प्रदान गर्न नयाँ नोट प्रयोग गर्ने चलन छ । जसका कारण प्रत्येक दशैंमा नोट साट्नेहरुको ठूलो भीड लाग्ने गर्छ । नेपाल राष्ट्र बैकले घटस्थापनाको दिनदेखि नै सर्वसाधारणको लागि १८ हजार ५ सयका दरले नयाँ नोट दिने भनिए पनि पाल्पामा कार्तिक १ गते देखि वाणिज्य बैंकबाट मात्र नयाँ नोट वितरण गरेपछि नयाँ नोट नपाएको भन्दै सर्वसाधारण आक्रोसित समेत हुने गरेका छन् ।
नेपाल राष्ट्र बैकले एक महिना अघिदेखि नै सार्वजनिक रुपमा सञ्चार माध्यमबाट १८ हजार ५ सयका दरले नयाँ नोट वितरण गर्ने जानकारी गराए पनि जिल्लामा भने पर्याप्त नोट नपठाउँदा जनताले सास्ती भोग्नु परेको छ । पाँच-छ घण्ट देखि लामो लाईन बस्दा समेत कतियले नयाँ नोट नपाउँदा दुःखी भएका छन् ।

























