बर्दिबास । चाडपर्वको समयमा नेपाल–भारत खुला सिमानाले अवैध क्रियाकलाप हुने भएको सीमा सुरक्षामा गम्भीर हुन सशस्त्र प्रहरीलाई सीमाक्षेत्रका जनप्रतिनिधिहरूले निर्देशन दिएका छन् ।
सीमा क्षेत्रमा कडा निगरानी, सुरक्षा गस्ती र तार वार नगरे यस्ता समस्या बढ्दै जाने भनाइ उनीहरुको छ । वडाध्यक्षहरूले समय छँदै सीमाक्षेत्रको स्थायी समाधान गर्न आग्रह गरे ।
सशस्त्र प्रहरीको बर्दिबासस्थित नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालयमा बिहीबार ‘सीमावासीसँग सशस्त्र प्रहरी’ विषयक सीमा सुरक्षाको महत्त्व तथा सीमा अपराध नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सीमा क्षेत्रका घटनाक्रम प्रस्तुत गर्दै वडाध्यक्षहरूले यस्तो आग्रह गरेका हुन् ।
मधेस प्रदेशको नेपाल भारत अन्तर्राष्ट्रिय सीमासँग जुटेको ८ जिल्लाका १४३ वडाका वडाध्यक्षहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
त्यस क्रममा दशगजा अतिक्रमण, सीमास्तम्भ हेरफेर, लागु औषध ओसारपसार, आपराधिक चलखेल, नेपाली क्षेत्रमा पूर्वाधारको कमी र भारतीय सशस्त्र सीमा बल (एसएसवी) ले गरेका ज्यादती बारे वडाध्यक्षहरूले जानकारी गराए ।
भारतसँग ५ किमी सीमा जुटेको बारा जिल्ला देउताल ३ का वडाध्यक्ष रामकिशोर प्रसाद कुशवहाले आफ्नो वडाको दशगजा क्षेत्रमा यसअघिका ६३ वटा सीमास्तम्भ (पिलर) मध्ये २० वटा हराएको बताए । बारा देउतालकै वडा नं ४ पनि भारतीय सीमासँग जुटेको वडा हो । वडाध्यक्ष ललन यादवका अनुसार यसअगि सीमाक्षेत्रमा ७२ वटा सीमास्तम्भ थिए अब ५० वटा मात्र छन् ।
दशगजामा भारतीय सुरक्षाकर्मीले एकलौटी रुपमा थुप्रै पिलर हेरफेर गरे पनि नेपाली पक्षले कुनै वास्ता नगरको अन्य वडाका वडाध्यक्षहरूको पनि गुनासो थियो ।
एसएसवीको यस्तो गतिविधि नेपाल भारतबिच भएको सहमति र समझौता विपरीत रहेको उनीहरूको भनाइ छ । वडाध्यक्षहरुका अनुसार ‘सीमा क्षेत्रलाई यथास्थितिमै रहन देऊ’ भनी उच्च तह (हाई लेबल) मा हस्ताक्षर नै भएको छ । यी हस्ताक्षर सन १८१६ को सुगौली सन्धिपछिका पूरक सम्धिमा भएको हो ।
पर्सा गाउँपालिका २ सर्लाहीका वडाध्यक्ष राकेश रामले एसएसवीले नेपालीमाथि थिचोमिचो गर्दै आए पनि त्यसको रोकथाम र नेपालीलाई सुरक्षा प्रत्याभूति दिन कसैले चासो नलिएको गुनासो गरे ।
सीमा समस्यापछि वडाध्यक्षहरूले खुला सिमानाका कारण हुने लागु औषध कारोबार र दुर्व्यसन समस्यालाई प्रमुखतासाथ उठाउनुभएको थियो ।

















