काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक ४.०५ अंक घटेर १९०३.८४ विन्दुमा झरेको छ ।
सेन्सेटिभ इण्डेक्स ०.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३२ अंक घटेको छ।
बिहीबार २८४ स्टकको २५ हजार ५२० पटकको कारोबारमा ९७ करोड ६ लाख १२ हजार रुपैयाँ बराबरको ३७ लाख ६६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा नबिल बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको ५ करोड ९० लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ।
त्यसैगरी प्रभु बैंकको ५ करोडभन्दा बढीको संस्थापक शेयर खरिदबिक्री भएको छ भने नबिल बैंकको करिब ४ करोडको सर्वसाधारण शेयर किनबेच भएको छ।
कारोबारमा आएका १०६ स्टकहरुको मूल्य बढे पनि ती स्टकहरुको मूल्य वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ । सबैभन्दा बढी मूल्य बढेको स्टक भने सिटिजन्स म्युचुअल फण्ड २ रहेको छ। सो फण्डको इकाईमूल्य ५.८७ प्रतिशत बढेको छ ।
त्यसैगरी, बिपिडब्लु लघुवित्तको शेयरमूल्य ४.७६ प्रतिशत बढेको छ। अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयरमूल्य सर्वाधिक ८.२५ प्रतिशत घटेको छ । त्यस्तै, इन्फिनिटी लघुवित्त र आशा लघुवित्तको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी घटेको छ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ्ग, लगानी, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ । जलविद्यूत उपसमूहको परिसूचक सर्वाधिक ०.९६ प्रतिशत घटेको छ ।

























