खोटाङ । जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने एकमात्र स्वास्थ्यकर्मी (एनेस्थेसिया सहायक) रुद्र ढुङ्गाना आफैँ बिरामी भएपछि उक्त सेवा ठप्प भएको हो ।
ढुङ्गाना उपचारका लागि काठमाडौँ गएका छन् । उनी उपचारका लागि गएपछि अस्पतालले प्रसूति सेवा बन्द भएको बारे सूचना जारी गरेको छ । असोज ३० गते जारी गरिएको सूचनामा भनिएको छ, “अर्को व्यवस्था नभएसम्मका लागि जिल्ला अस्पतालमा सुत्केरी र शल्यक्रिया सेवा बन्द भएको छ ।”
जिल्ला अस्पतालका निमित्त प्रमुख डा. चतुरानन्द यादवले कार्यरत एकमात्र स्वास्थ्यकर्मी बिरामी भएर उपचार गराउन गएपछि सेवा बन्द गर्न बाध्य भएको जानकारी दिएका छन् । “एनेस्थेसिया सहायक दशैँपछि मात्र फर्किनुहुन्छ, त्यतिबेलासम्म सेवा उपलब्ध गराउन सकिँदैन”, उनले भने । ढुङ्गानाको ठाउँमा अर्को कर्मचारीको व्यवस्था गर्न तत्काल सम्भव नभएको उनको भनाइ छ ।
जिल्लामा वैकल्पिक व्यवस्था नहुँदा सुत्केरीलाई चर्को शुल्क तिरेर हेलिकप्टर चार्टर गरी उपचारका लागि अन्यत्र लैजानुपर्ने बाध्यता छ । विसं २०४९ मा स्थापना भएको जिल्ला अस्पतालमा हालसम्म एनेस्थेसिया सहायकको दरबन्दी छैन । अस्पताललाई ‘निकसाइमन’ नामक संस्थाले एकजना एनेस्थेसिया सहायक उपलब्ध गराएको हो । ती स्वास्थ्यकर्मी आफै बिरामी भएको अवस्थामा पटक पटक प्रसूति सेवा बन्द गर्ने गरिएको छ ।
अस्पतालको प्रस्तुति सेवा बन्द भएपछि सामाजिक सञ्जालमा सरकार, स्वास्थ्य मन्त्रालय र जिल्ला अस्पतालको चर्को आलोचना भइरहेको छ ।
खोटाङकै राजेश खोटाङ्गेले जिल्ला अस्पतालको सूचना सेयर गर्दै फेसवुकमा लेखेका छन् –“यो सूचना त खोटाङ जिल्ला भरिका जनताले मात्रै नपढेर नेपाल भित्र र बाहिर सबै तिरका मान्छेले पढे होलान् नि होइन र । जिल्ला अस्पताल जस्तो सम्वेदनशील ठाउँमा यो हविगत छ भने इलाका स्वास्थ्य चौकी र वडा तिरको अवस्था के होला ? एउटी सुत्केरी महिलाको आमा बन्ने अधिकारको समेत हनन भएको होइन र ?
बेहोस पार्ने मान्छे बिरामी होस कि अप्रेसन गर्ने डाक्टर सरुवा होस् त्यो बिरामीको चासोको बिषय होइन । बिरामीको चासो र सरोकार भनेको कुनै पनि सर्तमा बिरामीले अस्पतालबाट सेवा पाउनु पर्दछ ।
स्कूल हो र आज अँग्रेजी पढाउने फलानो शिक्षक हुनुहुन्न त्यसैले नेपाली पढ है भन्नू । अत्ति नै सिकिस्त बिरामी आएको बखत बेहोस पार्ने मान्छे छैन दशैं पछि आउनुस् भन्नु जिल्ला अस्पतालको नैतिकता भित्र पर्दछ र ? पहाड छोडेर मान्छेले बसाइँ हिँड्नु परेको त्यसै होइन नि ।”


























