काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै छन् । प्रदेश सभा वैठक आज बिहान ११ बजे बस्दै छ।
आफ्नो पार्टीबाट विद्रोह गरेका ८ सहित एमालेका ३९ सांसदको समर्थनमा गत शनिबार मुख्यमन्त्री बनेका कांग्रेस नेता कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री कार्कीलाई प्रदेश सरकारमा रहेको एमालेले मात्र होइन, केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलले पनि विश्वासको मत दिने बताएका छन् । विश्वासको मत दिए फरक नपर्ने तर कांग्रेस वाहेक केन्द्रीय गठबन्धनका दललाई कोशी सरकारमा भित्र्याए एमाले बाहिरने संकेत दिएको छ ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। तर कार्कीको पक्षमा राप्रपाका ६ प्रदेश सांसद वाहेक सवैले विश्वासको मत दिने संकेत मिलेको छ ।
प्रदेशसभामा एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा) को १ जना सांसद छन् । यसमा एमालेबाहेक बाँकी सबै दल केन्द्रीय सत्ता गठबन्धनका हुन् ।
माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले गठबन्धनका सबै दलले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने सहमति भइसकेको बताएका छन् ।
६ सिट भएको राप्रपाले भने तटस्थ बस्ने निर्णय गरिसकेको छ ।
























