काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनमा बोल्दै मन्त्री डा महतले भने ‘नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेका छन्।’
युवाहरूलाई यहाँ केही छैन, अरु गइसके, म पनि विदेश जानैपर्छ भन्ने लागेको भए त्यो भ्रममा नपर्न आग्रह गरे । मन्त्री डा. महतले भने ‘यहाँ अवसर छ, अरु देश भौतिक रुपमा पूर्ण विकसित भइसकेका छन्। त्यहाँ गइसकेपछि एउटा संयन्त्रको पूर्जाका रुपमा फिट हुने हो । तर यहाँ प्रशस्त सम्भावना छ, त्यसलाई हेर्ने दृष्टिकोण सूक्ष्म चाहिन्छ।’
हाइड्रोपावरमा नेपालले नेटवर्क बनाइसकेको उनको दाबी छ।
आर्थिक वृद्धिको महत्वपूर्ण हिस्सा जलविद्युत बन्ने मन्त्री महतले बताए । ‘यसमा हामीले धेरै अनुभव र ज्ञान हासिल गरिसकेका छौं, अब यसमा गैरआवासीय नेपाली साथीहरु जोडिनुपर्छ’ उनले भने, ‘हामी बुढिगण्डकी जलासययुक्त आयोजनालाई हामी अगाडि बढाउन चाहन्छौं ।’
लगानीको दोस्रो सम्भावना सूचना प्रविधि क्षेत्रमा रहेको उनले बताए । ‘बेलायतमा वार्षिक ५० मिलियन सफ्टवेयर निर्यात हुँदो रहेछ। बेलायत मात्र होइन, अन्य देशमा पनि सफ्टवेयर निर्यात भइरहेको छ। सफ्टवेयर निर्यातबाट असीमित आम्दानी गर्न सकिन्छ,’ उनले भने ।
नेपालमा धेरै नकरात्मक भावना फैलिएको उनले बताए । अब सकारात्मक भावना फैलाउनु पर्ने उनको भनाइ छ ।
























