काठमाडौँ । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह पदमुक्त भएकी छन् । २०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर मेयरमा निर्वाचित साहले एमाले परित्याग गरेर आम जनता पार्टीमा प्रवेश गरेपछि उनी पदमुक्त भएकी हुन् ।
उनले पार्टी त्याग गरेको जानकारी एमालेले निर्वाचन आयोगलाई गराएपछि आयोगले साह पदमुक्त भएको सूचनामार्फत् जानकारी दिएको हो ।
साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन् ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार साहले दल त्याग गरेकाले मेयर पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ ।
‘नेकपा एमालेको तर्फबाट संवत् २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका रौतहट जिल्ला, मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साह अन्य दलमा प्रवेश गरेको भनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक राजनीतिक दलको केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त हुन आएकोले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निज निर्वाचित भएको पद स्वतः रिक्त भएको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्ने र सोही नियमको उपनियम (३) बमोजिम सूचना प्रकाशन भएपछि त्यस्ता सदस्यको पद स्वतः रिक्त हुने भनी आयोगबाट मिति २०६०/०६/२९ गते निर्णय भएको हुँदा यो सूचना प्रकाशन गरिएको छ,’ आयोगले जारी गरेको सूचनामा भनिएको छ ।


























