काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंको सोल्टी होटलमा शुरु हुँदैछ ।
सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनमा अध्यक्षका पाँच जनाले दाबी गरेका छन् । वर्तमा कार्यसमितिका अध्यक्षद्वय बद्री केसी र रविना थापासहित उपाध्यक्ष आरके शर्मा, महेश श्रेष्ठ र उपमहासचिव विनय अधिकारीले अध्यक्षमा दाबी गरेका छन् ।
केसी, श्रेष्ठ र शर्माले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । केसीलाई एमालेको, श्रेष्ठलाई कांग्रेसको र शर्मालाई माओवादी केन्द्रको समर्थन रहेको बताइएको छ ।
सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधि, एनआरएनका अभियन्ता र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्वलगायत करिब चार हजारभन्दा बढीको सहभागिता रहने एनआरएनएले जनाएको छ ।
विश्वभरबाट संघमा सूचीकृत सदस्यको संख्या ९६ हजार ८ सय ५० छ ।



















