काठमाडौं । आमनेपालीले धेरै नसुनेको र सुने पनि बुझ्न नसकेको टेरामोक्स प्रणाली के हो र यो प्रणाली किन विवादको केन्द्रमा छ भन्ने कुराको खोज हामीले गरेका छौं । नेपाल दूरसञ्चार प्राधिकरण नेपालमा सञ्चालन हुने दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको गुणस्तरलगायत, आय–व्यय सुपरीवेक्षण गर्ने अख्तियार प्राप्त सरकारी निकाय हो ।
नेपालमा आधा दर्जनभन्दा बढी टेलि–कम्युनिकेसन सेवा प्रदायक कम्पनी खुले पनि हाल दुईवटा कम्पनीमात्र सञ्चालनमा छन् । एनटिसी नामले आमजनजिब्रोमा झुण्डिएको नेपाल टेलिकम र एनसेल । टेरामोक्स एउटा यस्तो प्रविधि हो जसले कल बाइपासलगायत टेलिकममा हुने विभिन्नखाले अवैध गतिविधिलाई नियन्त्रण गरी अपरेटर तथा भिओआइपी कल बाइपासलगायतका गतिविधिबाट हुने अर्बौंको क्षतिलाई रोकेर राज्यको राजस्व वृद्धिमा मद्दत गर्दछ ।
नेपालका सन्दर्भमा टेलिकम ग्राहकको संख्या बढ्दै जाने, भ्वाइस डाटाको प्रयोग बढ्दै जाने तथा सेवाको विस्तार हुँदै जाने तर आम्दानी घटिरहेको अवस्थाको वस्तुगत विवरण टेरामोक्स प्रविधिमार्फत् बाहिर आउने छ । यो प्रविधि जडान हुनेबित्तिकै एकातर्फ राज्यलाई अर्बौं राजस्व फाइदा हुन्छ भने अर्कातर्फ टेलि–कम्युनिकेसन सेवाप्रदायक कम्पनीहरूको गुणस्तरमा सोचेभन्दा राम्रो सुधार आउनेछ ।

टेरामोक्स प्रणाली जडान नगर्न किन लागेका छन् दलहरू ?
साउन ३०, २०८० मा नेपालको एउटा निकै नाम चलेको र आफूलाई मूलधारको मिडिया दाबी गर्ने एउटा मिडियाले टेरामोक्स प्रविधिका बारेमा भ्रामक समाचार छाप्यो । जुन समाचारको आशय नेपाल दूरसञ्चार प्राधिकरणले नागरिकको फोन ट्यापिङ गर्ने सहितको टेरामोक्स प्रविधि भित्र्याएको भन्ने थियो । सर्वथा प्रायोजित उक्त समाचारमा प्रधानमन्त्री पुष्पकमल दाहालले टेरामोक्स प्रविधि लागू नगर्ने भनी सञ्चारकर्मीहरूलाई भनेको कुरा उल्लेख थियो । टेरामोक्स प्रविधि लेवनानी कम्पनी भ्यानराइज सोलुसनले बोलपत्रमार्फत् जडान गर्ने ठेक्का पाएको करिब आधा दशक बितिसकेको छ । टेलिकम सेवाप्रदायकहरूको दुरूपयोग गरी कल बाइपास र अन्डर बिलिङका कारण हुने राजस्व चुहावट रोक्न संसारभरि नै प्रभावकारी मानिएको टेरामोक्स प्रणालीलाई नेपालमा लागू हुन नदिन खासगरी गठबन्धन दलको नेतृत्व गरिरहेको माओवादीदेखि लेखा समितिको नेतृत्व पाएको एमालेका कतिपय नेताहरू कम्मर कसेरै लागेको देखिन्छ । यसको एकमात्र कारण भनेको टेलिकम सेवाप्रदायकहरूबाट दलविशेष र तिनका नेताहरूले लिने ‘आर्थिक लाभ’ नै मुख्य कारण भएको कुरा जानकारहरू बताउँछन् ।
लेखा समिति र अख्तियारको अनौठो चरित्र
टेरामोक्स प्रविधिले टेलिकम अपरेटरहरू (नेपालको हकमा नेपाल टेलिकम र एनसेल टेलिकम अपरेटरहरू हुन् ।)ले घोषणा गरेको International National Voice call र एसएमएसको कुल परिमाण ठीक छ छैन भनी अनुगमन गर्छ । ग्राहको आवाज ट्यापिङ गर्ने काम यो प्रविधिले गर्दैन । एक त यो प्रविधिसँग कल ट्यापिङ गर्ने अधिकार र प्रविधि दुवै छैन । अर्कोतर्फ टेरामोक्स प्रविधिले टेलिकम अपरेटरहरूले गर्न सक्ने Undercleared तथा Underdelaring call र एसएमएस परिमाणलाई पूर्णरूपमा नियन्त्रण गर्दछ ।

राज्यलाई तिर्नुपर्ने अर्बाैंको राजस्व छलिरहेका टेलिकम अपरेटरहरू खासगरी एनसेलले सुरुवाती दिनहरूबाटै टेरामोक्सको विरोध गर्ने कारण नै यही हो । टेरामोक्स प्रविधिले ग्राहकको एसएमएसको विषयवस्तु हेर्न सक्दैन । टेरामोक्सले अपरेटरको नेटवर्क ठीक भए/नभएको कुराको सूचना अपरेटरहरूलाई तुरुन्तै प्रदान गर्छ जसका कारण आमउपभोक्ताले गुणस्तरीय सेवा प्राप्त गर्ने कुराको सुनिश्चितता गर्दछ । खासगरी भिओआइपी कल बाइपासका कारण वार्षिक दश अर्बभन्दा बढी राजस्व संकलनमा क्षति भइरहेको कुरा यसअघि नै सार्वजनिक भइसकेको छ । टेरामोक्सले कल बाइपासलाई रोक्ने मात्र नभई कसले कल बाइपास गरिरहेको छ र कहाँबाट त्यस्तो अपराध भइरहेको छ भन्ने कुरा तुरुन्तै पत्ता लगाउन सक्छ । तर, भ्रष्टाचारको अनुसन्धान गर्ने निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग नै यो प्रविधि भित्र्याउन नदिन हात धोएर लाग्नु निकै नै रहस्यमय बनेको छ । एक उच्च स्रोतका अनुसार टेरामोक्स प्रविधि भित्रिएको खण्डमा टेलिकम अपरेटरहरूको घुमाउरो ठगीधन्दा समाप्त हुने भयले अपरेटरहरू र नेपालमा रहेर कल बाइबासको धन्दा सञ्चालन गरिरहेको एउटा ठूलो गिरोहले अख्तियार र लेखा समितिसमेतलाई ‘व्यवस्थापन गरेको’ कुरा बताउँछन् । स्रोतका अनुसार भर्खरै मात्र लेखा समिति सभापतिसमेत भएका एमाले नेता ऋषिकेश पोख्रेललाई युरोपियन मुलुक डेनमार्कमा पोख्रेलका विश्वास पात्र खनाल थरका एजेन्टमार्फत् दश करोड रुपैयाँ उक्त गिरोहले टेरामोक्स रोक्ने शर्तमा ‘टोकन’ पठाएको बुझिएको छ ।

ठूला मिडिया टेलिकम अपरेटर कल बाइपास गर्ने गिरोहको गोटी
टेरामोक्स लागू हुँदा देशलाई ठूलो फाइदा हुने कुरामा कुनै शंका छैन तर टेलिकम माफियाहरूलाई यसले त्यत्तिकै मात्रामा क्षति पु¥याउने भएका कारण टेलिकम माफियाहरूले शक्तिकेन्द्रलाई प्रभावमा राख्न सफल भएका छन् भने अर्कोतर्फ ठूला मिडियाहरूलाई समेत उनीहरूले ठूलै सौदाबाजीमार्फत् प्रभावमा पारेका छन् । आर्थिक वर्ष २०७७/०७८ को तथ्यांकलाई हेर्ने हो भने कल बाइपासको माध्यमबाट मात्र एक आर्थिक वर्षमा १२ अर्ब रुपैयाँ क्षति भएको कुरा सिआइबीको एक रिपोर्टले देखाएको छ । कथित ठूला मिडियाहरू देशले बेहोरेको अर्बौंको क्षतिको नजरअन्दाज गर्ने र टेरामोक्स प्रविधिले गर्नै नसक्ने कल ट्यापिङको हौवा फिँजाएर आफ्नो व्यवसाय टिकाउने मात्र ध्याउन्नमा लागेको कुरा छर्लंगै भएको छ ।
प्रयोगकर्ता बढ्ने तर राजस्व सधैँ घटिरहने
नेपालमा सञ्चालित टेलिकम अपरेटर एनसेलको मदर कम्पनी एक्जियाटा हो । एक्जियाटाले नेपाल, श्रीलंका, मलेसिया, इन्डोनेसिया, भारतलगायत विभिन्न मुलुकमा विभिन्न नाममा टेलिकम सेवाप्रदायकहरू सञ्चालन गरेको छ । सन् २०१६ मा नेपालमा एनसेलका प्रयोगकर्ता एक्जियाटा कम्पनीको रेकर्डअनुसार एक करोड चालिस लाख रहेका थिए । सन् २०१६ मा एनसेलले तिर्ने राजस्व ५८० करोड थियो तर २०२२ सम्म आइपुग्दा एनसेल प्रयोगकर्ता बढेर एक करोड सत्तरी लाख पुगेको दाबी एक्जियाटाले गरेको छ । यसो हुँदा राजस्व बढ्नु त कता हो कता उल्टै राजस्व घटेर ३९० करोडमा झरेको छ । यसका धेरै कारणमध्ये कल बाइपास मुख्य हो । कल बाइपास ¥याकेटरहरूका लागि दक्षिण एसिया क्षेत्रमै नेपाल एउटा महत्वपूर्ण ट्रान्जिट पोइन्ट बनेको कुरा माथिको तथ्यांकबाट समेत प्रष्ट हुन्छ । एनसेलको मदर कम्पनी एक्जियाटाले प्रस्तुत गरेको तथ्यांकमा सन् २०१६ देखि २०२२ सम्मको तथ्यांकमा श्रीलंका, भारत, बंगलादेश, मलेसिया, इन्डोनेसियालगायतका सबै मुलुकहरूमा टेलिकमका ग्राहक बढेसँगै राजस्वमा समेत उल्लेख्य वृद्धि भएको तथ्यांक छ तर नेपालमा मात्र त्यसको ठीक उल्टो राजस्व घट्नु आफैँमा अनौठो र नमिल्दो कुरा छ ।

नेपालको राजनीतिक संक्रमणका कारण र कतिपय नेताहरूमा देखिएको द्रव्यमोहको फाइदा टेलिकम अपरेटरहरूले लिएको कुरा यसैबाट समेत सहजै बुझ्न सकिन्छ । उपल्लो तहका नेतादेखि मूलधारका मिडियासमेत यो कुराबाट बेखबर नै भएका भने छैनन् । सन्दर्भ नमिले पनि प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणताका चीनको टेलिकम कम्पनी हुवाएको असान्दर्भिक न्यानो आतिथ्यतासमेत नेपालमा टेरामोक्स लागू गर्न नदिने अन्तर्राष्ट्रिय कम्पनीहरूको चलखेलका रूपमा लिन सकिने कुरा कतिपय विज्ञहरू बताउँछन् । पूर्व अख्तियार प्रमुख नवीन घिमिरेले आफ्ना छोरालाई टेलिकम अपरेटरहरूका विभिन्न ठेक्का नदिएको झोकमा टेरामोक्स लागू गर्न नदिन आफ्नो पदको आडमा हदैसम्मको हतकण्डा गरेको कुरासमेत जानकारहरू बताउँछन् ।
























